विचारदंश

सरिता तिवारी
विचारदंश

जब रोपिन्छ हृदयमा विचारको जरा
चाहेर पनि
कहिल्यै हुन नसकिदो रहेछ
विचारहीन

वर्षौ वर्षेखि
मभित्र हुर्किरहेछ विचारको रुख
र कैयौं कैयौं दिनदेखि
मलाई डसिरहेछ लगातार

बुद्ध, कन्फ्युसियस या मार्क्स
लखेटिरहेछन् पाइला पाइला फुक्दै

सपनामा पनि
मेरा गालामा हिर्काउन आउछन्
जोन अफ् आर्क
लक्ष्मी बाई
अथवा सिल्भिया प्लाथ
र पारिजात

पूजाकोठामा, धारोमा अथवा लुगा सुकाइरहदा छतमा
बसमा, कक्षाकोठामा, भीडमा वा एकाकीमा
जहीं कहीं
छायाजस्तै
मसगै हुन्छ
विचार

उम्लिन्छ चियाको भुल्कासगै
छड्किन्छ भातको सितासगै
रेशमी गुजुल्टोझैं
उठ्छ चुलोमाथि
बाफहरूको जुलुशजस्तो विचार

घरका मानिसहरूलाई
पतिदेवलाई, नानीहरूलाई
म पस्किदिन्छु केवल
थाल थालमा
कचौरामा, गिलासमा र प्लेट प्लेटमा
विचार

मसगै टासिएर
मभित्रभित्रै भिजेर
मेरो मुटुसम्म पुगेर फैलिएको छ
विचारको झोल
र म सख्त छु यसको यन्त्रणाबाट
कैयौं वर्ष महिना र दिनदेखि

मलाई देखेर
मेरा आफन्त, प्रियजन
अतिशय आजित छन्, त्रसित छन्
र सहानुभूतिबश सोधिरहेछन् डाक्टरहरूसग
“कहा पाइन्छ हजूर विचारदंशको औषधी?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)