Archive | October 2007

राष्ट्रिय स्तरका प्रत्रिका भनौदाको मुख कसले बन्द गरेको छ!


किन यि ठुला भनौदा प्रत्रिका घम्भिर छैनन! किन आज सम्म पत्रकार शाह को स्थिती सार्वजनिक हुँदैन! माओवादी किन चुप छ! यो पहिलो पल्ट पनि होइन माओवादीले पत्रकारको खेदो खनेको! जो मन पर्दैन त्यसलाई मारेको ! हुनत हाम्रा नेपालमा रहेका पत्र प्रत्रिक जो ठुलो उसैको कुरो गर्छन्! किन गर्थे साना तिना प्रत्रकारको कुरा र अर्को कुरा त के पाउछन र कुरा गर्‍यो को राज्यले दिने सुख सुबिधा बन्दा होला!
हामी जस्ता साना तिना लाई पुछ्ने को?
तर खबर्दार हामीले यो तत्यलाई अन्तरराट्यि प्रत्रकारहरु माझ राखी सकेक छौ! जस्तो कि बि.बि.सी सिएनएन अल्जाजिरा अनी आरु
आशा छ हामीलाई बिस्बका हरेक प्रत्रकार जगतले यस झघन्य अपराधाको निन्दा गारोस!
please free journaliste birendrakumar shah
free press freedom!!

माओवाददीद्वारा पत्रकार वीरेन्द्रकुमार साहको हत्या


अपहरित पत्रकार वीरेन्द्रकुमार साहको स्थिति सार्वजनिक गर्न र दोषीलाई कडा कारवाहीको लागि थप दबाब सिर्जना गर्न साहकी पत्नीले पत्रकार सम्मेलन मार्फत आग्रह गरेकै दिन स्थानिय वासिन्दाले निजको हत्य गरिसकेको बताएका छन् । आफ्नो नाम सर्वजनिक गर्न नचाहने स्थानिय वासिन्दाका अनुसार अपहरित पत्रकार वीरेन्द्रकुमार साहलाई माओवाददीले अपहरण गरेको पर्सी पल्टनै नजिकको जङ्गलमा हत्या गरेर र लास बेपत्ता बनाएका हुन ।

यता हिजो मात्र नेपाल पत्रकार महासंघको आयोजनामा ०६४ कात्तिक १२ गते राजधानीमा गरिएको पत्रकार सम्मेलनमा पत्रकार साहकी पत्नीले सो आग्रह गरेकी हुन् । पत्रकार साहको सकुशल मुक्तिका लागि पहल हुने आशा बोकी उनका पत्नी उम्रावती देवी साह, छोरा विवेक साह, छोरी विद्यालक्ष्मी साह र भाइ भयाराम साह राजधानी आएका छन् । अपहरण गरी बेपत्ता पारिएका साहकी पत्नी उम्रावती देवी साहले आफ्ना पतिलाई जसरी माओवादीले अपहरण गरेर लगे त्यसरी नै मुक्त गरिदिन माओवादी निकट उच्च स्रोतसँग पत्रकार सम्मेलनमार्फ आग्रह गरिन् । उनले सरकार, मानवअधिकारकर्मी र संञ्चारकर्मीलाई आफ्ना पतिको रिहाइका लागि पहल गरिदिन समेत आग्रह गरिन् । यसको लागि माओवादीले आफ्ना परिवारलाई घर छाड्न भने पनि आफुहरु त्यसका लागि तयार रहेको सम्मेलनमा बताइन् ।

वाराका पत्रकार एवं प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य वीरेन्द्रकुमार साहलाई माओवादीले अपहरण गरी बेपत्ता पारिएको आज २६ दिन पुगेका छ ।

अपहरित पत्रकार साहका भाइ भयाराम साहले माओवादी जिल्ला जनसरकार प्रमुख लालबाहादुर चौधरी लगायतका समूहले दाइलाई अपहरण गरेको भन्दै माओवादी पार्टीसँग सकुशल मुक्तिका लागि आग्रह गरे।यसैगरी पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीले पत्रकार साहको अपहरणको घटना माओवादीबाट भएको पटकपटक पुष्टि भइसकेकाले पत्रकार साहको स्थिति तत्काल सार्वजनिक गर्न आग्रह गरे ।

मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार अयोगले पत्रकार साहको मुक्तिका लागि पहल गरेको तर अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय मानवअधिकावादी संस्थहरु मौन रहेकोमा सक्रिय हुन पनि उनले आग्रह गरे ।

माओवादीद्वारा प्रेसमाथिको दुर्व्यवहार सम्बन्धमा सात राजनीतिक दलबीच छलफल हुनुपर्नेमा उनले जोड दिए । पत्रकार साहलाई असोज १८ गते अपरान्ह ५-३० बजे स्थानीय उपजन गाविस १ पिपराव बजारबाट स्थानीय तहमा परिचित माओवादी जनसरकार प्रमूख लालबाहादुर चौधरी लगायत कुन्दन फौजदार र रामइकवाल सहनीले अपहरण गरेका थिए ।

by ktmnepal

पत्रकार साहलाई सार्वजनिक गर्न पत्नीको आग्रह


उपेन्द्र लामिछाने

काठमाडौं, कार्तिक १२ – ‘जे-जस्तो भए पनि मेरो पतिको अवस्था छिट्टै सार्वजनिक गर’ सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा २५ दिनअघि अपहरित बाराका पत्रकार वीरेन्द्र साहकी पत्नी उमरावतीले रुँदै आग्रह गरिन् ‘उहाँको चिन्ताले घरका सबैको अवस्था नाजुक बन्दै गएको छ ।’
‘बरु देश छाडेर जाउ भने पनि जान्छौं, पैसा लेउ भने पनि दिन्छौं, जे माग्नु छ माग, जे सजाय दिन्छौं, देऊ । तर मेरो पतिलाई जिउँदै देऊ’ भोजपुरी भाषामा उनले आँसु बगाउँदै अनुरोध गरिन् ।

आमाले रुँदै बाबुको रिहाइका लागि अपिल गरिरहँदा छेउमै रहेका ८ वषर्ीय छोरा विवेक र ६ वषर्ीया छोरी विद्यालक्ष्मी गहभरि आँसु पारिरहेका थिए । उनले थप पुकारा गरिन्- ‘रिहा गरिदेऊ, बरु म मेरा पतिलाई कलम चलाउन पनि रोक्नेछु ।’

उनले अपहरणमा माओवादीका पूर्वजनसरकार प्रमुख लालबहादुर चौधरीको हात रहेको बताइन् । ‘अपहरण हुनुभन्दा पहिला पनि तिनै व्यक्तिबाट बारम्बार धम्की आउँथ्यो’ उनले भनिन् । तर माओवादीले अपहरणमा पार्टीको हात नरहेको दाबी गर्दै आएको छ ।

‘दुई चार पैसा कमाएर परिवार चलाउँदै आएका दाजुको अपहरणपछि परिवारका सबैको मुखमा ताला लगाउनुपर्ने अवस्था’ आएको भाइ भैयारामले बताए । सबैको शारीरिक स्थिति पनि दिन/प्रतिदिन बिग्रदै गएको उनले बताए ।

८० वषर्ीय बाबु र ७५ वषर्ीया आमा जिन्दगीको अन्तिम क्षणमा आइलागेको विपद्का कारण कहालिलाग्दो चिन्तामा डुबेको उनले सुनाए । पतिको अपहरणपछि छोरा-छोरी विद्यालय जान नसकेको पनि उमरावतीले बताइन् । ‘चिन्ता र डरले खाली रोइरहन्छन्, पढ्नेतर्फ ध्यान जाओस् पनि कसरी ?,’ उनले भनिन् दसैं पनि रोएरै बित्यो ।

नेपाल पत्रकार महासंघको आयोजनामा सञ्चारग्राममा भएको कार्यक्रममा बारा शाखा सभापति विनोद प्याकुरेलले अपहरणमा जिल्लाका माओवादी नेताको प्रत्यक्ष संलग्नता रहेको पुष्टि भइसक्दा पनि माओवादी गम्भीर नभएको बताए । उनले भने- ‘दोषी देखिएका समेत धमाधम विज्ञप्ति निकाल्दै उम्कन खोज्दैछन् ।’

महासंघका सभापति विष्णु निष्ठुरीले माओवादीले घटनाको जिम्मेवारी लिँदै साहको अवस्था शीघ्र सार्वजनिक गर्नुपर्ने बताए ।

महासंघले साहको रिहाइको माग गर्दै मंगलबार बिहान १० बजे नयाँ बानेश्वरबाट र्‍याली र सभा गर्ने कार्यक्रम राखेको छ । प्रेस चौतारीका केन्द्रीय सदस्य साह एभ्यु न्युज, नेपाल एफएम, दृष्टि साप्ताहिकलगायतमा आबद्ध छन् ।

संसद्मा सरकार र माओवादीको आलोचना

अन्तरिम संसद्को विशेष अधिवेशनमा सांसदहरूले माओवादीद्वारा अपहरित पत्रकार वीरेन्द्र शाहलाई अहिलेसम्म मुक्त नगराएकामा सरकार र माओवादी दुवैको चर्को आलोचना गर्दै तत्काल उनको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।
विशेष समय लिएर एमाले सांसद रघुजी पन्त, महेन्द्र यादव र राप्रपाका गोविन्दविक्रम शाहले अपहरण भएको तीन साता बितिसक्दा पनि साहको अवस्था अज्ञात रहको बताउँदै सदनलाई उनको अवस्थाबारे जानकारी दिन गृहमन्त्री र माओवादी नेतृत्वलाई आग्रह गरका थिए । उनीहरूले साहको अवस्था जानकारी गराउन नसक्नु सरकारको लाचारी भएको टिप्पणीसमेत गरेका थिए ।

by kantipur

बैँस (कविता) – टंक वनेम


– टंक वनेम

आम्बेपोंजोमा
बैँस ढालेर
हेँवा खोला बग्दा ओरालै ओरालो
शिबालिक पहाडको टाकुरा पारी
वानायुज घोडाले पर्बत नाँघे झैं
आम्बेपोजोंमाको राजकुमारी संग
जून थियो मन भरी
घाम थियो आङ्भरी ।

तर
त्यो घाम
सधैको घाम भएन
त्यो जून
सधै को जून भएन
हेर्दा हेर्दै उर्लदो बैँस
गर्ल्याम्म ढल्यो
निस्सीम आकास लजायो
झ्याम्टा ठोकेर शायद
साम्बाहरु नाँचे
बतासले हल्लाएको फूल झैं
वैजयन्ती बैँस ढल्यो
पाखुरा सुर्काएर इ…हु भन्दै
खबरदारी गर्‍यो राजकुमारीले ।

तर बैँस
पहाड भएर उभिएन
न क्षितिजले बार हाल्यो बैँसको
जून घाम बिरानो भए
बैँसको पहाड माथि
तुसारोले रंग पोत्यो

बिचारा !
आम्बेपोंजोमाको राजकुमारी
नजुरेको साइत कुरेर
बेपर्बाह बैँसको चौतारीमा
सुसाइ रहयो एक्लै एक्लै
जोरसालको सालघारी झैं ।

त्यति खेर म
इतिहासले रङ्खाएको
रातो पहाड माथि उभिरहेको थिएँ
भन्न मन लागेको थियो
तिम्रो बैँस फर्काएर
उहिलेको युबा मेलामा
धान नाँचौं धाक फुकाएर
तिम्रो हाम्रो बूढो बैँसमा
छरौं बर्तमानका बीउहरु
गोडौ आम्बेपोजोमाको इतिहास
तिम्रो बैँस बूढो हुदैमा
इतिहासको बैँस कहाँ बूढो हुन्छ र ?

गोलो पृथ्बी घुमी रहयो
जून घाम लुकामारी गरी रहे
म त्यहि रातो पहाड माथि
ठिंग उभि रहेछु
राजकुमारीको बैँस झैं
इतिहासको बैँस पनि ढलि रहे
हेँवा खोला झैं बगी रहे
आम्बेपोंजोमा
कहिले जन्माउछौ हँ ?
नयाँ युगको भबिश्य ?
तिवाजो ओढ्ने अर्को
एउटा अजम्मरी बैँस ।

– ताप्लेजुङ् ।

नोट – आम्बेपोंजोमा – देबस्थल -ठाउँको नाउँ

आउँदा जाँदा मुस्कुराउथी (गीत गजल) – दिलिप योन्जन


– दिलिप योन्जन
आउँदा जाँदा मुस्कुराउथी, हिजो आज छोड्यौ किन
चोखो माया तोडनुरैछ, झुटो माया जोड्यौ किन ।

फुलै फुलको बगैचामा, दुख्ने काँडा रोप्यौ किन
हासी खुसी बाचेकैथे, ब्यथा पिडा छोड्यौ किन।

जन्म जन्म जिउने मर्ने, बिर्सी दिई कसम किन
धोका दिई हास्नु रैछ, देबी देउता भाक्यौ किन।

गन्तब्य हाम्रो एउटै थियो, बाटो बिच्मै मोड्यौ किन
दुई आत्माको मिलन हाम्रो, थाहै नपाई तोड्यौ किन।

तारा जुन साची राखी, दिन्मै टाडा भयौ किन
जिउने आसमा मार्नु रैछ, छिन्मै छुरा घोप्यौ किन।
साउथ अमेरिक
hyounjon111@gmail.com

एक झल्को प्रेम – लघुकथा – मिजास तेम्वे

लघुकथा – मिजास तेम्वे
…अन्त्यमा हाम्रो नातालाई माया गर्नु भएकोमा धेरै खुशी लागेको छ । सायद यहि नै मेरो निम्ती जिन्दगीको मिठो सपना हुनेछ ।
..अनि प्रिय माङ, तपाईको मेलको लागि धन्यबाद । हेर्नु न म आजकल एकदम ब्यस्त भएकी छु । रुन मात्र सकेकी छैन । के गर्नु सोचे जस्तो नहुने रहेछ, सायद नसोचे जस्तो भईदिनु पो जीवन हो की ?
…अ यता आए पछि मलाई कल गर्नु न ल । मलाई धेरै कुरा गर्न मन छ । समय अनुकूलता मिल्यो भने अझ धेरै कुरा गरुला नत्र हजूरको आवाज मात्र अलिकति सुनुला ।
..ए ! आज जाने है तपाई, मलाई एक्लो पारेर । हुन त तपाई मेरो हरेक पलमा बस्नु भएको छ । हरेक दृश्यहरुमा तपाईलाई पाएको छु । मलाई थाह छैन यो माया हो कि पाप हो , यदि पाप गरेको रहेछु भने निर्धक्क भन्न सक्छु हो भनेर । आखिर मन भरी तपाई नै बस्नुभएको छ ,
…साँची माङ ! जिन्दगी कति अनौठो रहेछ है , तपाई आउनु भो मेरो जिन्दगीमा, कति मिठो लाग्छ यी साथहरु, कति प्यारो लाग्छ यी भाकाहरु । हामी न त भौतिक शरीरमा आशक्त भएर एक अर्कामा हराएका हौं । न त कुनै आकंक्षा नै छ , यो मन मनको नाता हो । यहाँ कुनै सांसारीक स्वार्थ छैन । हाम्रो यो नाता त्यो बेलासम्म रहने छ जब सम्म हामी एक अर्कालाई महशुस गर्न सक्ने छौं ।
…थाह छ नी, तपाई मेरो प्राण हुनुहुन्छ, श्वास हुनुहुन्छ अनि मेरो रगतको प्रतिपल बहावहरुमा तपाईको न्यानो साथहरुको अनुभूति हुन्छ । मलाई कहिले पनि एक्लो पार्ने कोशिस नगर्नु है । म सधैं सधैं जिउन चाहन्छु यो मिठो पलसंग ।
…त्यहि भएर त म यति धेरै तपाईमा समर्पित छु नि । कहिलेकाही लाग्छ यो सपना पो हो कि ?
…बस् ! तपाई यसरी नै यो मनको तरेलीहरुमा यसै गरि मुटु समाएर बसिदिनू … माङ ! I love you सुन्नु न I love you so much भागि नजानु है मेरो प्राण लगेर, तपाईकी काली मर्छे तपाईको अनुभूति बिना ।
..हिजो पनि मेरो लागि पानीले खुब रुद्मनु भो । बाँकी दिनहरुमा म तपाईको यादहरुसंग हुनेछु । सम्भव भए केहि लेख्दै गर्नु नि ! आफ्नो ख्याल सधैं गर्नु । केहि नराम्रो सुन्न नपरोस् । तपाई चाँडै नै आउनु है… अब के गरुँ लेख्न बन्द गरुँ…..?
…”मैले के गरे भने तिमीलाई सम्झे जस्तो र माया गरे जस्तो लाग्छ, म त्यो काम गरिरहने छु” घरी घरी सम्झन्छु यी तपाईका उद्गारहरु । हो त नी मैले कसरी बुझ्ने कि तपाईले नि मलाई याद गरिरहनु भएको छ भनेर । म पो सधैं तपाईको यादहरुमा अल्झिरहन्छु अनि सम्झनाहरुमा बल्झिरहन्छु ।
…होइन, यो समयको सापेक्षता कहाँनेर छ ? यौटै समय घरि कति लामो ला…मो भईदिन्छ । घरि कति छोटो भई दिन्छ ।
…हेल्लो !!! काली,
ति म्रो माङ आईपुगे । कमसे कम बाँचेर आएको छु । भारी रहर साँचेर ल्याएको छु । कति उकुसमुकुस भएको छु म, महिनौं पोको पारेर राखेका कति कुराहरु एकै साथ बिस्फोट हुन खोज्छन् । भेटौं न काली ! कहाँ भेटौं – कहिले भेटौं ?
… आजलाई राखौं है । भोलि कुरा गरौं न ल ।
…रात अबेरसम्म काम गर्यो । थाकेर भारी जिउ बोकी घर फर्क्यो,
हतार हतार खाना बनायो , सरसफाई गर्यो अनि सुत्न गयो । बिहानदेखि फेरी सोहि नियमित कार्यतालिकाको पुनराबृत्ति कस्तो अचम्मको ब्यस्तता ।
…फोनमा एकछिन् बोल्ने सम्म फुर्सद छैन । माङ ! मलाई माफ गर्नुहोला । कृपया मलाई बुझ्ने कोशिस गर्नोस् ।
…काली ! हिजो जस्तै लाग्छ । तिमी एउटा सुन्दर केटी थियौ अनि मायालु प्रेमिका भयौ । तिमी एउटा भाबुक नारी अनि जम्मामा एउटा सच्चा स्वास्नी मान्छे थियौ । तर आज कति चाँडै यस्तरी यन्त्र झैं भएकी – मेसीन बनेकी ? …भावना शून्य…. माया… सून्य, संबेदना शून्य…. सब शून्य …. शून्य…. शून्य


छिन्ताङ्ग (कविता) – राजेश राई

– राजेश राई

भाडाका शाही जल्लादहरुले
मृत्यु आतंकको खेती गरीरहे
भाडाका काला मान्छेहरुले
सुत्केरी आमाहरुलाई बलत्कार गदै
आतकंको संगिनहरु रोपिरहे
तर छिन्ताङ्गहरु
हजार मृत्युका तमसुकहरुमाथि
हजार मृत्युका मुचुल्काहरुमाथि
आस्थाको रातो हस्तक्षार गर्दै
चढिरह्यो रातो आस्थाको सगरमाथा
बढिरह्यो महान् मुक्ति यात्रामा
छातिभरी आस्था रोपेर
मृत्युलाई जितेर
दलालहरुको आकाश थर्काउदै
जल्लादहरुको धर्ती कपाउदै
छिन्ताङ्गहरुले
गाईरह्यो मुत्तिको लागि इन्कलाब
झुक्दै -झुकेन
जल्लादहरुको नाङ्गा आतंकसंग
रुक्दै -रुकेन
स्वातन्त्रता प्राप्तिको महान यात्रामा
जति संगिन छातिमाथि रोपिए
त्यति आस्थाको शिखर चढिरह्यो
जति घाँटीहरु सेरिए
त्यति मुक्ति यात्राको कसम खाईरहे
काला हत्केलाहरुले
सूर्य छेक्ने प्रयास गरे पनि
छिन्ताङ्गहरुले
पूर्वबाट रत्तिम सूर्य बालिरहे ।

२०६४ जेठ ५, छिन्ताङ्ग ६ ढोलमुखा