Archive | August 2008

म भन्दिन (गणेश खड्का प्रतिक्षा/सिसेल्स)

म भन्दिन आकाशको तारा झारी दिन्द्दु
कसम खाँदिन सुनै सुनले तिमीलाई पुरिदिन्द्दु
संतोष मानी लिन्द्द्यौ भने बरु
मानो होइन, पाथी होइन, माया मुरी दिन्द्दु ।

धन, दौलत दिउँ भने म सँग द्दैन
दिनु खानु मात्र पनि संबन्ध होइन
ज्यानै दिन्द्दु माग्यौ भने बरु
तर भन्ने द्दैन तिम्रो माया मारी दिन्द्दु ।

एकै गाँस भए पनि बाँडी चुडी खाउँला
लुगा फाटे मन सँगै टाली टुली लाउँला
दुबै मिली पौरख गरौं बरु
म भन्दिन जुन टिपी शिरमा सिउरी दिन्द्दु ।

म भन्दिन आकाशको तारा झारी दिन्द्दु
कसम खाँदिन सुनै सुनले तिमीलाई पुरिदिन्द्दु
संतोष मानी लिन्द्द्यौ भने बरु
मानो होइन, पाथी होइन, माया मुरी दिन्द्दु

गणेश खड्का प्रतिक्षा
तिवारी भञ्ज्याड्ग ४, भोजपुर
हाल: भिक्टोरिया (सिसेल्स)

“मुलबाटो” (देबेन थापा)

परिबेशका दर्दहरुमा हराए छन यी निदहरु
भौतारिही रहेका छन कल्पना,
दृष्टी गरिरहेका छन सुनौला ति दिनहरु
अदृष्य भै लम्किरहेका छन आफ्नै पथमा रितहरु
छरपष्ट भै लत्रेका छन ति आफ्नै पेटका मैदानहरु
खिस्स हाँसी लजाउँदैछन
आफ्नै पलकले घुम्टो ओढाउँदै
शिर ठाडो पारी बाँचेका छन ति आफ्नै पनका योद्वाहरु
अमृत्य पथमा लम्की रहेको छ अदृष्य ति आँखाहरु
सोचेर ति गन्तब्य छुने आशाहरु
छैन कसैको दक्ष्य भुलेर देखाउने बाटाहरु

कैयौ चट्टानमा ठक्कर खाइ रहेछन बिचरा ति पाटाहरु
कैयौ मोडमा बाटिएका छन आफुलाईनै हरपल भुलाई
हजरौलाई शान्त श्वास दिलाई
जागिरहेछन आफ्नै जोशमा आफुलाई नै भार बोकाई
थाक्ने छैन कहिले पनि परिश्रमलाई भित्र लुकाई
हाँगाहरु फटाउँदै जान्छन सारा दु:ख सही दिएर
मानबको आशुलाई परिबेशमा लिही दिएर
आफ्नो सुख खोस्न खोज्छन बाडी पहिरो आइदिएर
तर पनि निडर हुन्छन स्वाभिमानी उस्को शिर
काल रात्रीको चिरलाई चिर्दै जगाउँदै आउँछन प्रभातमा
लम्काउछन त्यही गन्तब्य छुन लाई
पाटी पौवा र झरनाको स्वादिष्टता चखाई
लगाउँछन आफ्नै मौनतामा चौतारीमा थोरै बसाई
कसैको श्राप खान्छ्न कसैको गाली
एक नास कोही हुन्न सबै यहाँ जाली
सदैब साथ दिने मात्र हाम्रो मुलबाटो
गर्दै जाउ पर पुन्या मुलबाटो, पाउनेछौ माटो ।

देबेन थापा
बसन्तपुर -४, तेह्रथुम
हाल: साउदी अरेबिया

उस्तै छ!

सङ्गीत आयाम

उस्तै छ

मनका एकान्तका तलाउमाझ
अनायासै तरङ्ग उठ्छ
लाग्छ कुनै अतृप्त रागले
सङ्गीतका कर्णप्रिय
स्वर पाएको छ
सम्बन्धका सीमा
कृत्रिम बगैंचाका स्पर्शभित्र
जब कतै सन्त्रस्त रुन्छ
लाग्छ फेरि कुनै मौसम
छरपस्ट हुँदै मरेको छ
मृत संवेदनाहरूको
देश उस्तै छ
मान्छेका अभिशप्त कथा
फेरि असङ्ख्य शिलालेखहरूमा
उसरी नै लेखिन्छन्
कहीँ पुग्न नसकिने
यात्रा उस्तै छ
मान्छेका शापित उमङ्गहरू
फेरि अनन्त बाटाहरूमाझ
फेरि उसरी नै भेटिन्छन्
यातनाका श्रृङ्खला उस्तै छन्
यातनागृहभित्र परेका मस्तिष्कहरू
प्रताडित उस्तै छन्
बलात्कृत सपनाहरूका
चिहान उस्तै छन्
सपना देख्ने आँखाहरू
प्रतिबन्धित उस्तै छन् ।
परिवर्तनका लागि
लड्ने हातहरूमा
फेरि पनि थमाइएको
रित्तो रित्तो मौनता छ
अपरिभाषित अर्थहरूकार्
अर्थहीन र्स्पर्शहरू उस्तै छन्
कालो साम्राज्यको विरुध्दमा
उज्यालो खोज्दै पाइलाहरू
गतिशील हुँदा नहुँदै
चर्को हस्तक्षेपको कारण
उत्साहित बिम्बहरूका
असामयिक मरण उस्तै छन्
पुरानो रक्सी छचल्किरहने
नयाँ बोतल उस्तै छ
छेपारोले फेर्ने
रङ्गको कथा उस्तै छ
अँगेनामा कहिल्यै बल्न नसकेको
आगोको भर उस्तै छ
हिड्दा हिड्दैका पाइलालाई
अपहरणको डर उस्तै छ ।
उपचार नपाएर कुनै रोगी
जब सडकमा लड्छ
समयले फेरि एकपल्ट
देश थला परेको
र्सगर्व घोषणा गर्छ
कुपोषणले खाएको अनुहारलाई लिएर
जब पोष्टमार्टम शुरु हुन्छ
समयले फेरि एकपल्ट
देश भोकमरीमा परेको
तात्तातो समाचार र्छछ
शताब्दीयौंदेखिको
रीत उस्तै छ
मान्छेले मान्छेलाई गर्ने
प्रीत उस्तै छ
इतिहास लेख्ने कलमको
गीत उस्तै छ
कुर्सीप्राप्त गर्दाको
जित उस्तै छ ।

‘म बाँचे भने भगवान मर्छ’

एक हरफ शब्दले
संसार जित्न खोज्ने
ए कवि !
कोर एउटा
नानी रोएको आवाजजस्तो कविता छापामारको कैमोफ्लेज लुगाजस्तो
टाटे पाङग्रे
विश्वको नक्सामा
ए भिक्षु !

विपरित बहिरहेछ हावा
उल्टो फरफराइरहेछ झण्डा
फर्काउ
पानको पात पाइला नाघेर
सिमाना काटिरहेका
घामलाई

कि त रोएर
कि त हाँसेर सकिने
जिन्दगीलाई
यसरी जोड
ए दार्शनिक !

पुथ्वी घुमे जस्तो
फेरि फेरि
नदोहोरियोस्

कलिलो फूलको गुनासो

‘म मरे भने भगवान बाँच्छ
म बाँचे भने भगवान मर्छ’ ।

मलाई उत्पन्न गराउने संयोगहरूप्रति

डा. कविताराम श्रेष्ठ

मलाई उत्पन्न गराउने संयोगहरूप्रति

योजनाहीन मान्छेको जुनी पाएको छु ।
न मेरो पूर्वयोजना थियो यसमा ।
न मातापिताकै माया ।
न कसैको चाह
न भगवनकै वरदान ।
काकतालीले म यहाँ उत्पन्न भएँ ।
तथापि म भन्दिनँ कि
म कसैप्रति पनि अनगृहित छैन ।
मनोरञ्जनवै क्रममा किन नहोस्,
नजानेरै वा थाहाबेगर नै किन नहोस्,
मलाई उत्पन्न गराए
एउटा संयोगले ।
संयोगवश मेरा मातापिताले ।
मैले आखिर यो जीवन पाएको छु ।
एउटा अनमोल जीवन ।
त्यसैले
म अनुगृहित छु,
पिताका हजारौँ-लाखौँ शुक्रकीटमध्ये
काकतालीको एक शुक्रकीटप्रति ।
म अनुगृहित छु
माताका सैयुँ सैयुँ डिम्बहरुमध्ये
काकतालीको एक डिम्बप्रति ।
अनि म अनुगृहित छु
ती शुक्रकीट र डिम्बको संयोगको निशेचनप्रति ।
अझ, म अनुगृहित छु
मातापिताका शरीरप्रति ।
उहाँहरूलाई उत्पन्न गराउने सम्पूर्ण वंशप्रति ।
अझ थपेरै भन्नुपर्छ,
म अनुगृहित छु
मानववंश र पृथ्वीप्रति,
पृथ्वी उत्पन्न गर्ने ब्रहृमाण्डप्रति ।
अनि सारांशमा
मलाई उत्पन्न गराउने सबैसबै संयोगहरुप्रति ।

समवेदना मरेको बेला

कृष्ण प्रसाई

समवेदना मरेको बेला

अभ्यस्त भैसकेका छन् अखबारका पानाहरू-
सहज बनाउन दिनहुँ रगतका खबरहरूलाई,
कति सस्तो भएको छ मृत्यु !
कति बोधो भएको छ समवेदना ! !
आफू हराउँदा आफै खोज्न सक्दैन ।
आफ्नो अन्तेष्टिमा आफैं रुन पाउँदैन ।

हँसिया चलाउने हातहरूले-
बन्दुकको माला भिरेदेखि नै
आजभोलि प्रत्येक एउटा बिहान-
सहस्र शहीदहरू जन्माएर उदाउँछ –
र बिधवा आमाहरूमा मध्याहृन हुँदै ,
सिंदुर पुछिएको गोधूलि भएर अस्ताउँछ ।
कति सहज हुनसक्दो रहेछ अन्त्येष्ठि,
कति पर्राई हुनसकेको सद्गति ,
आफ्नै नाल गाडिएको ठाउँमा-
अकाल मृत्युभोग भोगिरहेछ ।

मेरी प्यारी छोरी याकिसा ,
मैले अबुझ ठाने पनि-
तिमीसँग अझै समवेदनाहरू बाँकी नै रहेछन् ,
रगताम्मे भएका धर्तीहरू देखेर-
लासहरूको पहाडमा,
रगतहरूको आहालभित्र-
मान्छेका विवेकहरू त्यति रुझेका छैनन्-
जति तिमी आफ्नो खेलाउना फाट्दा रुझेकी हुन्छेऊ ।
एउटा चकलेट्ले किन्नसक्ने त्रि्रो खुसी,
बारुदका बादलहरूमा रुमलिएर
गोलीहरूले परेड खेलेको यो बेला-
कहिले अनाथ हुन्छ थाहा छैन ।
चिताउनै नसकिने –
सोच्नै नमिल्ने-
कस्तो मृत्युले डसेर,
को कतिखेर-
बेवारिसे शहीद हुन्छ थाहा छैन ।

चारैतिर सुनसान र चकमन्न,
विचार शून्य, ज्ञान शून्य-
मृतःप्राय बस्तीहरूमा,
रगतको मात लागेर-
बुद्ध रोएको  बेला छ यो ,
चाहेर पनि अर्थीहरुलाई-
काँध हाल्ने कोही छैन,
कठै भन्ने कोही छैन ।
विवेकले आत्महत्या गरेको यस बेला,
ए मेरा आफन्तहरू हो !
ए मेरा अग्रजहरू हो ! !
ए मेरा सगोत्रीहरू हो ! ! !
मेरो घरको बाटो भएर हिंडदै नहिंड,
समवेदना मरेको छ अहिले –
म कसैलाई चिन्नै सक्दिनँ ,

वाग्मतीको नियति ; गति नेपालको

दीपक जडित

वाग्मतीको नियति ; गति नेपालको

कठैबरा !
वाग्मती
कहिल्यै बग्न सकिनन्
स्वतन्त्र भएर सलल
खोसे मान्छेहरुले
स्वतन्त्रता उनको
खुल्न नसकेर कहिल्यै
पर्यावरणको तन्तु
मान्छेहरुको चेतमा
मात्रै सडकहरु बगिरहे
जुलुश भएर सलल
न रोक्यो कहिल्यै
पेटीमा थुपारिएको डंगुर फोहोरले
डण्डीफोर निचोरेको अनुहार जस्तो
काठ्माण्डौ खित्का छाड्छ
खुट्टा उचालेर अधुरो खुशीमा
नयाँ बजार
यौटा विचार भड्काउंछ
वालुवाटार
यौटा विचार अड्काउंछ
बल्खु ट्वाल्ल परिरहँदा
नयाँ बानेश्वर
लाजले टाउको झुकाउंछ
र भन्छ
काठ्माण्डौ बाहिर
खै नेपाल कहाँ छ ?
कर्णालीको आवाज
आवाजहरुकै भिडमा बिलायो
अब त रोल्पापनि
काठ्माण्डौ मै हरायो
निमुखो रत्नपार्क बरा !
अझै विचार बगाउंछ
उरालेर मान्छेहरु सडकमा
लहर – लहर
तरंग – तरंग
जुलुशहरुमा सलल
स्थिरप्राय: वाग्मती
पुलुक्क हेर्छिन काठ्माण्डौलाई
र भन्छिन
कठैबरा ! गति नेपालको
उन्को र मेरो नियति उस्तै
संधै रोकिनुपर्ने आफ्नो गति
स्वतन्त्रता गुमाएर
अरुअरुले नै बनाएको फोहोरमा ।