जन्मदिनको शुभकामना
ज्ञानेन्द्र गदाल (हाल: अरोरा, कोलोराडो)
(‘डायस्पोरा नेपाली कविता: अमेरिका विशेष’का लागि कवि ज्ञानेन्द्र गदालको संयोजनमा)
जन्मदिनको शुभकामना
शुभदिन हो आज तिमीले,
यस धर्तिमा जन्म लिएको
सुन्दर सृष्टि जगमग पार्न, र्
इश्वरले एक फूल दिएको ।
शुभ होस् तिम्रो सधैं सधैं, जय होस् तिम्रो सधैं सधैं ।
कैले नगन्नु वितिसकेका,
दिनहरु अनि बर्षरु
कैले नभन्नु मेरा भएनन्,
छुटिसकेका हर्षरु
जो वित्नुथ्यो वितिसक्यो,
जो छुट्नुथ्यो छुटिसक्यो
सिर्जनाका बृक्ष उमार्न,
उठाऊ तिम्रा हातहरु ।
शुभ होस् तिम्रो सधैं सधैं, जय होस् तिम्रो सधैं सधैं ।
अब उदाउने दिनहरुमा,
हिंड्दा हुरी कांढा नहोस्
सुन्दर सुन्दर स्वप्नहरुलाई
चुम्ने दुरी टाढा नहोस्
जीवन हो यो जाडो गर्मी
सहनैपर्छ हामी सबैले
आंशु हांसो सहने साहस
सधैं तिमीमा आइरहोस्
शुभ होस् तिम्रो सधैं सधैं, जय होस् तिम्रो सधैं सधैं ।